पोखरा, वैशाख २४ । गण्डकी सभ्यता र कालीगण्डकी नदीको संरक्षणका लागि ‘गण्डकी सभ्यता बचाऔं, कालीगण्डकी–तिनाउ डाइभर्सन रोकौँ’ अभियान सुरु गरिएको छ। शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित पत्रकार सम्मेलनमा अभियानको औपचारिक घोषणा गरिएको हो।
गण्डकी सभ्यता बचाउ अभियानका संयोजक तथा पूर्व सांसद शङ्करप्रसाद पाण्डेयको संयोजनमा सुरु गरिएको अभियानले कालीगण्डकीलाई राष्ट्रिय नदी घोषणा गरी विश्व सम्पदा सूचीमा दर्ता गर्न माग गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख उपस्थितिमा सर्वसम्मत निर्णय गर्दै, कालीगण्डकी–तिनाउ डाइभर्सन योजनाले गण्डकी सभ्यतामा गम्भीर असर पार्ने भन्दै सो योजना रोक्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याइएको थियो।
अभियान अन्तर्गत २०८२ असोज पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म ‘कालीगण्डकी उत्तरवाहिनी दामोदर महामेला’ आयोजना गर्ने निर्णयसमेत गरिएको छ। पत्रकार सम्मेलनमा सो महामेलाको प्रस्ताव पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी पनि दिइएको छ।
कालीगण्डकी, कोशी र कर्णालीलाई नेपालको राष्ट्रिय नदीका रूपमा प्रस्तुत गर्दै वक्तव्यमा भनिएको छ, “यी पवित्र नदी र झरनाले दिएको स्वाभिमान, शान्ति, समृद्धि र एकताको सन्देशले हाम्रो सभ्यता बनेको हो।”
अभियानले कालीगण्डकी संरक्षणलाई राष्ट्रको स्वाभिमान र राष्ट्रियताको मूल पहिचानसँग जोड्दै त्यसलाई सम्पूर्ण नेपालीको साझा दायित्वका रूपमा लिन आह्वान गरेको छ।