स्याङ्जा, बैशाख २१ – वालिङ–हुवास–सेतीबेनी सडक अन्तर्गत डुम्रेभञ्ज्याङ –हुवास सडक खण्डमा चट्टान काट्ने (रक कटिङ) कार्य हुने भएकाले आगामी जेठ ५ गतेसम्मका लागि सो सडक बन्द हुने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन पोखराले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पत्र पठाउँदै मिति २०८२ साल वैशाख २० देखि जेठ ५ गतेसम्म सडक बन्द गरेर सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाउन अनुरोध गरेको छ।
सडक साँघुरो भएको र ramp बनाएर चट्टान काट्ने कार्य हुँदै भएकाले सवारी सञ्चालन असम्भव हुने प्राविधिक कारण देखाउँदै निर्माण व्यवसायी Gurung / Kaliganga / Niruula J.V ले उक्त माग गरेको हो।
सडक डिभिजन पोखराका इन्जिनियरद्वारा पठाइएको पत्रमा ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय स्याङ्जा र पर्वत, साथै वालिङ नगरपालिका वडा नं. १४ लाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।
सडक बन्द हुँदा स्थानीय यातायातमा केही समय असहज हुने भए तापनि निर्माण कार्य सम्पन्न भएपछि सडकमा सुरक्षित र सहज यात्रा सम्भव हुने अपेक्षा गरिएको छ।