स्याङ्जा, वैशाख १९ ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेको एक डसना उद्योगमा विद्युत सर्टका कारण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार नुवाकोटको मेगङ गाउँपालिका–६ घर भई हाल मिर्दीमा बस्दै आएका ३४ वर्षीय रमेश तामाङले सञ्चालन गर्दै आएको आलमदेवी सिरक डसना उद्योगमा दिउँसो करिब १ बजे आगलागी भएको हो।
उद्योगमा मेसिन सञ्चालनको क्रममा अचानक विद्युत सर्ट भएर आगो लागेको र आगो तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति नभएको भए पनि कपडा पेल्ने मेसिन, फाइबर, लत्ता कपडा लगायतका सामग्री जलेर करिब १४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।