पोखरा, वैशाख १९ — पोखरामा आयोजित ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेपछि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभालाई शुक्रबार बिदाई गरिएको छ। बिदाई समारोह अत्यन्तै भावुक वातावरणमा सम्पन्न भएको थियो।
कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो भने बिदाईको बेला आयोजक र श्रद्धालुका आँखा रसाएका थिए। ‘प्यार से बोलेन’ भन्ने देवी प्रतिभाको लोकप्रिय संवाद सम्झिँदै सबैको मन भारी बन्यो। संकल्पकर्ता विजय कृष्णमूर्तिसहित आयोजक मानव सेवा फाउण्डेशनले देवी र उनको टिमलाई फूलमाला र अभिनन्दनसहित बिदाई गर्यो।
विजय कृष्णमूर्ति स्वयं भावविव्हल बनेका थिए र अभिनन्दन पत्र पढ्दा भक्कानिएर शब्द उच्चारण गर्न नसक्ने अवस्थामा पुगेका थिए। कोटीहोम परिसर केहीबेर मौन र भावुक बनेको थियो।
वैशाख ५ गते पोखरा आइपुगेकी देवी प्रतिभा अब भारत फर्किने छिन् र झारखण्डमा कथा वाचन गर्ने कार्यक्रम रहेको बताइएको छ। तर आयोजकले जेठ १० देखि १६ गतेसम्म उनलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन्।
बिदाई समारोहमा बोल्दै देवी प्रतिभाले भनिन्, “यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरू प्रशन्न हुनुभयो?” भक्तजनले एक स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर अरू कथा पनि सुनाउनुहोस्’ भन्दै आग्रह गरे।
अब देवी प्रतिभाको स्थानमा भारतकै चर्चित युवा दार्शनिक तथा कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने कोटीहोम प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन ।