स्याङ्जा, वैशाख १८ — स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौर सिम्लेमा गोरू काटेको अभियोगमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार टेक भन्ने डम्बर बहादुर गुरुङ (उमेर करिब ४० वर्ष) ले आफ्नै घरमा पालेको गोरूलाई फलामको घन प्रयोग गरी टाउकोमा प्रहार गरेर मारेका थिए। उनले उक्त गोरूको मासु आफ्नै घरको आगनमा त्रिपालभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।
गोप्य सूचनाको आधारमा वैशाख १६ गते साँझ प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास गर्दा गोरू काटिएको पुष्टि भएको थियो। तर, घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले वैशाख १७ गते दिउँसो सोही स्थानमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरी पशुपक्षी सम्बन्धी कसूरअन्तर्गत मुद्धा दर्ता गरेको छ। साथै, स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले प्लास्टिकको बोरा, फलामको दाउ, चक्कु, हँसिया, छुरी, र धार बनाउने स्लिप ढुङ्गा लगायतका वस्तुहरू समेत वरामत गरेको जनाएको छ ।