काठमाडौं १५ वैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा २७ दिनदेखि सडक आन्दोलनमा उत्रिएका शिक्षकका मागबारे सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ण वेवास्ता गरेपछि आईतवारवाट शिक्षक आन्दोलन थप शसक्त वनाईएको छ ।
प्रधानमन्त्रीले विद्यालय शिक्षा ऐनको माग गर्दै सडकमा ओर्लिएका शिक्षकलाई लक्षित गर्दै ‘ऐन बोक्न उत्रो मान्छेहरू किन आउनुपर्यो ?’ भनेर शिक्षक आन्दोलनलाई बेवास्ता गर्दै आएका छन् । उनका पछिल्ला अभिव्यक्ति र व्यवहारबाट शिक्षकहरू सन्तुष्ट छैनन् ।
२६ दिनसम्म सडक आन्दोलनमा रहेका शिक्षकको माग सम्बोधन नभएपछि आइतबार बानेश्वरस्थित निषेधित क्षेत्र प्रवेश गरी प्रहरी ब्यारिकेड तोड्न खोज्दा प्रहरीसँग झडप नै भएको छ ।
शिक्षकले प्रहरी ब्यारिकेड भत्काएपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भीडबाट प्रहरीमाथि इँटा र ढुंगा प्रहार भएका थिए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ५० भन्दा बढी शिक्षक घाइते भएका दाबी गरेका छन् । उनीहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ ।
तर, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले १५ जना शिक्षक घाइते भएका बताए । सामान्य लाठी चार्ज र पानीको फोहरा हानिएको उनले बताए ।
सरकारले यसअघि पटक–पटक शिक्षकसँग गरेका सहमति कार्यान्वयन गर्दै छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै २७ दिनदेखि देशभरका सामुदायिक विद्यालयका करिब ७० हजार शिक्षक भद्र आन्दोलनमा थिए ।
शिक्षकको आन्दोलनका विषयमा सरकारले वार्ताको प्रयास गरे पनि शिक्षा विधेयक आउने विश्वासयोग्य वातावरण नबनेपछि संवादले मूर्त रूप लिन सकेको छैन ।