स्याङ्जा । राजमार्ग अन्तर्गतको पोखरा-बुटवल सडक स्तरोन्नति हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले बुधबार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन सार्वजनिक गर्दै राय–सुझावका लागि सूचना जारी गरेको छ ।
पोखरा—बुटवल सडक स्तरोन्नति परियोजनाले यातायात सहज बनाउनुका साथै व्यापार, पर्यटन र स्थानीय रोजगारी प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । चार वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक स्तरोन्नतिका लागि १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । दीर्घकालीन समस्या समाधानका लागि ९ अर्ब ३७ करोड २० लाख रुपैयाँमा पुल संरचना (भायाडक्ट) र सुरुङ निर्माण प्रस्ताव गरिएको छ ।
सडक पोखराको पृथ्वीचोकबाट सुरु भई स्याङ्जा, पाल्पा हुँदै बुटवलको गोलपार्कमा टुंगिनेछ । सडकको लम्बाई १५७.१५ किमी रहनेछ भने चौडाई ५० मिटर हुनेछ । सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र १ मिटरको नाली रहनेछ । सडकमा ३२५ वटा पाइप कल्भर्ट, १६ वटा आर्क कल्भर्ट, ४० मिमी बिटुमिनस वेयरिङ कोर्स निर्माण गरिनेछ ।
सडक विस्तारका लागि ५४.१२ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ९१.४२ हेक्टर खेतीयोग्य भूमि र १५.१८ हेक्टर वन क्षेत्र पर्दछ । यो आयोजनाले २९८२ वटा रुख तथा पोलहरू कटानी गर्नुपर्ने देखिएको छ ।
सडक विस्तारका क्रममा ३५५ घरधुरी, २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा, १५ वटा सार्वजनिक शौचालय, १६ वटा चौतारा, ४६ वटा बिजुलीका पोल, ७ वटा ट्रान्सफर्मर, १३ वटा मठ–मन्दिर प्रत्यक्ष प्रभावित हुनेछन् ।