स्याङ्जा, फागुन ५ ।
स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको सातौं संस्करणको स्याङ्जा महोत्सव भोली मंगलवार नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्ने भएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार नगरपालिका – १ मालेबगरमा फागुन ६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मञ्च सजावट तथा स्टलहरुमा व्यापारीहरुको आवागमन समेत भइसकेको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए ।
महोत्सवस्थलमा माछा महोत्सवको रुपमा स्याङजा जिल्लाका प्रख्यात नदीहरु आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी, हस्तकला प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स ९आमा एकल नृत्य० प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
उक्त महोत्सवमा अगुवा कृषक तथा कृषि विशेषज्ञ बीचको अन्तरक्रिया कार्यक्रम, पश्चिमाञ्चल क्षेत्रका विभिन्न ऐतिहासिक एवं धार्मिक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलहरूको फोटो प्रदर्शनी, महोत्सवस्थलबाट पशुपंक्षी, अटोमोवाइलहरूको प्रदर्शनी तथा विशेष छुटसहित बिक्री वितरण गर्ने व्यवस्था समेत मिलाइएको उद्योग वाणिज्य संघका सचिव रविन केसीले जानकारी दिए ।
महोत्सवमा सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी हुनेछ भने विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ ।
महोत्सव प्रवेशका लागि टिकट रु। १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु। ५० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकलाई निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई महोत्सवमा सहज पहुँच सुनिश्चित गर्न विभिन्न व्यवस्थाहरू मिलाइएको छ । महोत्सवमा अपांगता परिचयपत्रका आधारमा निःशुल्क प्रवेश, छुट्टै प्रवेशद्वार साथै अपांगता भएका कलाकारहरूलाई प्राथमिकताका साथ प्रतिभा प्रदर्शनको अवसर दिने व्यवस्था गरिएको छ ।
महोत्सव टिकट आम्दानीको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
२२० स्टल रहने यस महोत्सवमा ३ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा करिब एक करोड एक लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९५ लाख बीस हजार खर्च भई पाँच लाख ८० हजार बचत हुने अनुमान गरिएको छ ।