– गोपीकृष्ण रेग्मी चापाकोट
स्याङ्जा- १८ पौष ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा बढदो बसाइँसराइले शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त गर्न नसकिएको बताएका छन ।
चापाकोट नगरपालिका वडा न ४ मा रहेको राम मन्दिर माध्यमिक विद्यालय स्याङ्जाको स्वर्ण महोत्सव उदघाटन गर्दै उत्पादन तथा रोजगारी सिर्जना गर्न पर्यटन र कृषिमा लगानी बढाउनुपर्ने बताएका छन् ।
बसाई सराई दरलाई कम गर्न पनि उत्पादनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने मुख्य मन्त्री पाण्डेको भनाइ थियो। “बसाइँसराईको क्रम यही गतिमा जारी रहे बस्ती रित्तिने, गाउँ पुगेका सडक, स्वास्थ्य चौकी, विद्यालयको औचित्य नहुने खतरा र चिन्ताको विषय हो” मुख्यमन्त्री पाण्डेले हामी मानिसलाई उत्पादनसँग जोड्यो भने आर्थिक गतिविधि बढ्न सक्छ भनेर गण्डकी प्रदेशले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याएको धारणा व्यक्त गरे ।
पूर्वाधारको क्षेत्रमा प्रमुख क्षेत्र सडक संजाल रहेकाले प्रदेश सरकारले पालिकाको केन्द्र तथा वडाको केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई ,सुनिता थापा पुर्व सासद भागवत प्रकाश मल्ल लगाएतले आफ्नो क्षेत्रका विकास निर्माणका बारेमा आफ्नो धारणा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार मल्ल को अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शिक्षक लक्ष्मण सारुले गरेका थिए ।