स्याङ्जा १० मंसिर ।
जलवायु परिवर्तन र वातावरणीय प्रभावका असर तीव्र रूपमा बढेकाले त्यसका लागि तिनै तहका सरकारले विज्ञहरुको सुझावका आधारमा नीति निर्माण गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । पानीलाई कसरी विपदबाट सम्वृद्दिमा बदल्न सकिन्छ भन्ने विषयमा गल्याङमा आयोजित स्याङ्जा जलवायु गोष्ठीमा वोल्दै वातावरण सम्बन्धी विज्ञहरुले उक्त सुझाव दिएका हुन् ।
वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताउदै गोष्ठीमा परम्परालाई छाड्दै आधुनिक शैली अगाल्नुले हाम्रो वातावरण संगै परिवर्तन भएको विज्ञहरुले वताएका छन् ।
सरकारको विकास निर्माण वातावरणीय प्रभावका विषयमा अध्यायन नगरी गरिनु, हाम्रो कृषिलाई आधुनिकको नाममा रासायनिक मलको प्रयोग वढाईनु, बन जंगल, जलाधार क्षेत्रको संरक्षण नगरिनु, गाँउ बस्ने ठाँउमा शहर, शहरीकरणको लागि उपयुक्त ठाँउ पहिचान नगरी शहर बसाल्नु जस्ता सामान्य गल्तीले पनि वातावरणमा प्रभाव परेको गोष्ठीमा विज्ञहरुले धारणा राखेका छन् ।
जलवायु परिवर्तनले पानी, स्वास्थ्य, जैविक विविधता, कृषि, वन तथा पशुपालनमा अत्यन्त नराम्रो प्रभाव परिसकेको हुँदा स्थानीय तहदेखि केन्द्रसम्म यसका वारेमा साझा धारण वनाउन आवश्यक रहेको उनीहरुको सुझाव थियो । सरकारको नीतिगत समस्याका कारण स्थानीय तह, प्रदेश र केन्द्र सरकारले गर्ने काम र क्षेत्रको वारेमा प्रष्ट नीति हुनु आवश्यक रहेको समेत औल्याएका थिए।
नेपाल पानी सदुपयोग फाउन्डेसन को आयोजनामा गल्याङ नगरपालिका ,वालिङ् नगरपालिका र स्थानीय सरकार सवलीकरण को सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाल सरकार पुर्व जलस्रोत मन्त्री प्राज्ञ दिपक ज्ञवाली,काठमाडौ विश्वविद्यालय का उप प्राध्यापक डा.नानी रावत,काठमाडौं विश्वविद्यालय का प्राध्यापक डा.चन्द्रलाल पाण्डे ,वन तथा भुपरिधि योजनाविद लक्ष्मी दत्त भट्टट्ट,नेपाल पानी सदुपयोग फाउन्डेसन का अध्यक्ष डा.ङमिन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।
गल्याङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्ष हरु,सम्पूर्ण जनप्रतिनिधि ,समाजसेवी व्यक्तित्वहरु उपस्थित रहेको कार्यक्रममा जलवायु तथा पानी व्यवस्थापन समस्या पहिचान,गण्डकी प्रदेशमा पानी र जलवायु जोखिम न्युनिकरणका लागि सामुदायिक संस्था र नागरिकको भुमिका ,जलवायु तथा पानी व्यवस्थापनमा सहरीकरणका चुनौती र सम्भावना , जलवायु तथा पानी व्यवस्थापनमा गल्याङ नगरपालिकाको चुनौती र अवसरहरु लगायतका विषयहरुमा वृहत् छलफल भएको थियो।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले हाम्रो भुगोल, व्यवस्थित बस्ति विकास, कमजोर भुभाग, विकासका लागि स्रोत अभाव, निर्वाचनमुखी कार्यशैली, दिगो विकासको लक्ष्य नहुनु जस्ता कमजोरीले यस्तो समस्या निम्तिएको वताएका थिए । नगरपालिकाको दिगो विकास र प्रभावकारी विकासका लागि विज्ञहरुको सुझाव लिएर आगामी कार्यक्रम तय गर्ने लक्ष लिएको समेत उनको जिकिर थियो ।