स्याङ्जा २ मंसिर । प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेश सभा सदस्यमा स्याङ्जाकी सुनिता थापा मनोनयन हुने भएकी छन् ।
विमला गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट प्रदेशसभा सदस्य बनेकी थिइन् । उनको निधन पछि जनजाती क्लस्टरवाट सुनिता थापाको नाम नेपाली काँग्रेसले सिफारिस गर्नेछ ।
गण्डकी प्रदेश सभा सदस्य गौचनको कात्तिक २८ गते निधन भएको थियो । उनको अन्त्यष्टि भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा जन्मिएकी सुनिता थापा कांग्रेसका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन् ।
कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिता थापाले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर श्रवणशक्ति गुमाएकी थिइन् । २०४९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् ।