स्याङ्जा – ६ भदौ । सूर्योदय वचत तथा ऋण सहकारी संस्था बिरुवा सेवा केन्द्रको करोडौ रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीका प्रवन्धक जीवन वाग्ले र सहकारीका संयोजक तारेन्द्र वहादुर केसीलाई जिल्ला अदालत स्याङ्जाले थुनामा राख्न आदेश गरेको छ ।
सोही सहकारीको रकम अपचलन मुद्दामा संलग्न मुक्तिनाथ विकास वैंक बिरुवा शाखाकी कर्मचारी सन्ध्या भण्डारी लाई भने अदालतले १ लाख धरौटीमा छाडेको छ । जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार भूमि प्रसाद शर्माको ईजलासले उक्त आदेश गरेको हो ।
वुधवार र विहिवार दुवै दिन उनीहरूको वहस थियो । वहसमा जीवन वाग्लेको तर्फवाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र हरी प्रसाद रेग्मी, तारेन्द्र केसीको तर्फवाट महेन्द्रमान व्यथित र टंक न्यौपाने र सन्ध्या भण्डारीको तर्फवाट वरिष्ठ अधिवक्ता तुलसी गिरीले वहस गरेका थिए ।
सोही मुद्दामा रकम अपचलनको आरोप लागेका बिरुवा गाँउपालिकाका अध्यक्ष सूर्य वहादुर कुँवर भने फरार छन् । उनलाई जिल्ला अदालत स्याङ्जाले वारेन्ट पुर्जी जारी गर्ने तयारी गरेको वुझिएको छ । सहकारीको रकम अपचलन मुद्दामा पालिका अध्यक्ष कुँवर सहित ३ जनालाई करोडौ रकम अपचलन गरेको मुद्दा दायर भएको थियो ।