स्याङ्जा-२४ साउन । वुटवल पावर कम्पनी लिमिटेड अन्तर्गत आँधीखोला जलविद्युत केन्द्रवाट उत्पादित र वितरित विद्युत महशुल वृद्धि नगर्न विद्युत नियमन आयोगले निर्देशन गरेको छ ।
वुटवल पावर कम्पनीले उत्पादन र वितरणमा घाटा भएको देखाउदै महशुल दर वृद्धि गर्नका लागि दिएको निवेदन उपर नियमन आयोगले एकतर्फी निर्णय गरेर विद्युत नियमन आयोगले महशुल वृद्धि गर्न सिफारिस गरेको थियो ।
४५ देखि ७० प्रतिशत सम्म महशुल वृद्धि गर्न सिफारिस गरेपछि स्याङ्जा र पाल्पाका उपभोक्ताले चर्को विरोध जनाएका थिए । आयोगले गत जेठ १ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरि महशुल वृद्धि भएको सूचना जारी गरेको थियो । मूल्य वृद्धि विरूद्ध उपभोक्ताहरू आन्दोलित भएका थिए । भने वुटवल पावर कम्पनीलाई विद्युत महशुल लिन मिटर रिडिङमा समेत रोक लगाईएको थियो ।
आयोगको निर्णय विरूद्ध आन्दोलित उपभोक्ताले नेत्रप्रसाद पाण्डेको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आयोगको निर्णय चित्त नवुझेर निर्णय फिर्ता लिन ज्ञापनपत्र सहित आयोगलाई पत्राचार गरिएको थियो । संघर्ष समितिको पछिल्लो वैठक वुधवार रामपुर नगरपालिकामा वसेको थियो । वैठकले आयोग संग वार्ताका लागि जनप्रतिनिधि सहित राजनैतिक दलका प्रतिनिधि र पत्रकार सहितको टोलि गठन भएको थियो ।
विहिवार आयोगले वुटवल पावर कम्पनीलाई पुरानै दररेटमा महशुल लिन निर्देशन गरेपछि संघर्ष समितिका संयोजक नेत्र प्रसाद पाण्डेले निर्णयको स्वागत गरेका छन् । पाण्डेले यो उपभोक्ता हितमा आन्दोलनलाई सहयोग गर्नुहुने नेपाल सरकारका प्रधानमन्त्री, उर्जा मन्त्री, संघीय तथा प्रदेश साँसदहरू, पूर्व मन्त्री, प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार तथा आम उपभोक्ताहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
पाण्डेले वुटवल पावर कम्पनीको सेवा प्रवाहमा चुस्त दुरूस्त र गुणस्तरमा सुधार गर्न विद्युत नियमन आयोग र वुटवल पावर कम्पनी संग पुन छलफल सुरू गर्ने वताएका छन ।