स्याङ्जा ११ असार । पाठेघरको मुखको क्यान्सरवाट बर्सेनि विरामीको संख्या वढ्दै गईरहेको र नेपालको सन्दर्भमा क्यान्सर रोगवाट मृत्यू हुने मध्ये ८.७ प्रतिशत मानिस पाठेघरको मुखको क्यान्सरवाट मृत्यू भएको अवस्थालाई मध्येनजर गर्दै वालिङ नगरपालिकाले स्क्रिनिङ शिविर सन्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा यहि शनिवार वालिङ नगरपालिका वाड नं १ र २ मा शिविर आयोजना गरेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।
सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि ९० प्रतिशत महिलालाई १५ वर्षको उमेरभित्र एचपिभि खोप लगाउने, ७० प्रतिशत महिलाहरूको ३५ वर्ष उमेरमा एक पटक खोप लगाउने र फेरि ४५ वर्ष उमेरमा स्क्रिनिङ्ग गर्ने तथा ९० प्रतिशत महिलाको पाठेघरको मुखको रोगको पहिचान गरेर उपचार गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न सक्ने हो भने नेपालमा सन् २०३० सम्ममा ३० प्रतिशत मृत्युदर घटाउन सकिने जनाइएको छ ।
नगरपालिकाले शिविर सन्चालनपूर्व स्वास्थ्यकर्मीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोपका वारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको वताईन ।
शिविरमा ३० वर्ष देखि ५० वर्ष उमेर समुहका महिलाहरूले परिक्षण गर्न अनुरोध समेत गरिन ।