स्याङ्जा २२ जेठ ।
स्याङ्जा प्रहरी राजमार्गमा मापसे र लापसे नियन्त्रणमा कडाईका साथ सक्रियता देखाईरहेको छ । सिद्धार्थ राजमार्गमा सवारी चलाउदै आएका चालकहरुलाई मादक पदार्थ सेवन र लागुऔषध सेवन सम्वन्धी राजमार्ग चेकिङलाई तिव्र पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त राजमार्ग चेकिङका क्रममा सवारी चालकको ड्रग्स, युरिन टेष्ट चेकिङ गर्दा लागु औषध सेवन गरेको भेटिएपछि ६ जना चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनीहरु ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुरमा’ परेका छन् । सिद्धार्थ राजमार्गमा अबैध लागुऔषध गाँजा सेवन गरी सवारी चलाएको आरोप उनीहरुलाई छ । सवारी दुर्घट्ना न्यूनिकरण एवम् सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उदेश्यले सिद्धार्थ राजमार्गमा चल्ने सवारीका चालकलाई लागु पदार्थ सेवन चेकिङ् प्रहरीले गर्दै आएको छ ।
प्रहरीले सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका ४ नौडाँडामा गरिएको चेकिङ्मा १८ सवारी साधनका चलकलाई किट द्धारा लागुऔषध चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अबैध लागु औषध गाँजा समेत सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
नियन्त्रणमा रहेका स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने ३८ बर्षका सार्वजनिक बस चालक किरण बहादुर हमाल, कालीगण्डकी गाउँपालिका ६ बस्ने ३५ बर्षिय टिप्पर चालक गुमन बहादुर सिंजाली, पुवनपा ७ बस्ने २९ बर्षिय अटो चालक दिलिप सिंह ठकुरी, पुवनपा १ बस्ने ४२ बर्षिय ट्याक्सी चालक राम श्रेष्ठ र पुवनपा ७ बस्ने ३८ बर्षिय जिप चालक मंगल बहादुर दर्जी रहेका छन् ।
उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले लापसे सेवन गरी सवारी चलाउने चालकलाई निकै चासोका साथ हेरिरहेको छ ।
यस अघि पनि सिद्धार्थ राजमार्गमा गरिएको ड्रग्स युरिन टेष्टमा ६ जना चालक नै पक्राउ परेका थिए । १८ दिन थुनामा रहेर ८/८ हजार धरौटीमा उनीहरु रिहा भएका थिए । राजमार्ग मात्रै नभएर स्याङ्जाका भित्रि सडकमा पनि लागु पदार्थ सेवनको चेकजाँच अगाडी बढाउने जिल्ला प्रहरी प्रमुख शालिकराम शर्माले जानकारी दिए ।
प्रहरी प्रमुख शर्माका अनुसार जिल्लामा राजमार्ग सुरक्षा अति महत्वपूर्ण भएकाले राजमार्गवाट हुनसक्ने अन्य घटनालाई नियन्त्रण गर्न समेत प्रहरी सचेत रहेको वताएका छन् । पछिल्लो समय मापसे प्रहरीले जहाँकही चेक जाँच गर्ने गरेपछि चालकहरुले प्रहरीलाई छलेर लापसे गर्नेको संख्यामा वढ्दै जान थालेपछि यस तर्फ प्रहरीले सक्रियताका साथ लागेको जानकारी दिए ।