वालिङ २० असार । दलित समुदायको परम्परागत सिपको संरक्षणका लागि वालिङ नगरपालिकाले सहयोग गरेको छ। पछिल्लो समय आधुनिकता र नयाँ पुस्ताको परम्परागत सिपमा रुचि कम हुँदै गएका कारण दलित समुदायको परम्परागत सिप विस्तारै हराउँदै जान थालेका बेला नगरपालिका भने परम्परागत सिप संरक्षणमा जुटेको हो ।
वालिङ नगरपालिकाले दलित समुदायको लागी पञ्चे बाजाका सेट, सिलाई मेसिनहरु प्रदान गरेको हो ।
विभिन्न धार्मिक कार्यमा विशेष गरी विवाह प्रतबन्धमा प्रयोग हुँदै आएको पञ्चेबाजा पछिल्लो समय आधुनिकताका कारण र नयाँ पुस्तामा पुख्र्यौली पेशामा रुचि कम हुँदै जान थालेपछि पञ्चेबाजा लोप हुँदै जान थालेको छ ।
नगरपालिकाले भने दलित समुदायलाई आयआर्जन संग जोड्न तथा परम्परागत पुख्यौली पेशालाई निरन्तरता दिन चाहानेहरुका लागी अनुदानमा पञ्चेबाजा र सिलाई मेसिनहरु प्रदान गरेको उपप्रमुख कविता तिवारी गैह्रेले वताइन ।
उपप्रमुख गैह्रेले, ‘हामी दलित समुदायको जिवनस्तरलाई माथि उठाउनका लागी विभिन्न कार्यक्रम गरेका छौँ । दलित समुदायले गर्दै आएको परम्परागत पेशा व्यवसायलाई आधुनिकिकरण गरी अगाडि बढाउनका लागी आधुनिक खालका सिलाई मेसिनहरु उपलब्ध गराएका छौँ ।’ नगरमा पिछडिएका समुदायलाई आर्थिक रुपमा सबल तथा सक्षम बनाउन आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उपप्रमुख गैह्रेको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले नगरभित्रका पञ्चे बाजा बजाउने समुह, सिलाई कटाईलाई जिविकोपार्जनको माध्यम गराउदै आएका उद्यमीहरुका लागी मागको आधारमा आधुनिक शिलाई मेसिनहरु उपलब्ध गराईएको जानकारी दिए ।
नगरभित्रका ६७ जनाले लाभ लिएका छन् । एक समुहलाई पञ्चेबाजा सेट, ६ जनालाई जुत्ता शिलाउने आधुनिक मेसिन २८ जनालाइ कपडा सिलाउने मेसिन र केहीलाई आरन पंखा, वल्डीङ मेसीन र जस्तापाता वितरण गरिएको जनाएका छन्।