स्मार्ट सिटीको अवधारणामा अगाडी वढेको वालिङ नगरपालिकाले आगामी आ.व.०८० / ०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरप्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उत्पादन, रोजगारी र पूर्वाधार : वालिङको विकास र समृद्धिको आधार भन्ने मुख्य उद्देश्य सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तथा बजेटमा विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
नगरप्रमुख कृष्ण खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा आर्थिक विकास तथा हरेक नागरिकले सहज र सर्वशुलव स्वास्थ्य सेवाको पहुँचलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताए ।
गत आ.व.मा तय गरिएका नीति तथा कार्यक्रमहरु र योजनाहरुको सफल कार्यान्वयन भएको जानकारी दिदैँ नगरप्रमुख खाँणले विगतका कोही योजनाहरुको प्रतिफल क्रमशःप्राप्त भैरहेको उल्लेख गरेका छन् ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरको कृषि उत्पादन वृद्धि गर्न प्राथमिकता दिइएको छ । नगरभित्रका ६७ प्रतिशत नागरिकहरु कृषिमा आवद्ध रहेकोले उनीहरुको आर्थिक स्तर उकास्नको लागि कृषि क्षेत्रलाई ग्राहयता दिइएको कार्यक्रममा उल्लेख छ ।
कृषि उत्पादन वृद्धिको लागि एक टोल एक सामुहिक कृषि उत्पादन नीति अवलम्बन गरी स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुन्तला, कोदो र अदुवाजस्ता अन्न तथा फलफुलबाट स्थानीय मदिरा उत्पादन एवं लेबलिङ र ब्राण्डिङ गरी नगरको आन्तरिक आय वृद्धि गरिने कार्यक्रमलाई अगाडि सारिएको छ ।
कृषि तथा पशुपालनमा विशेष जोड दिइएको कार्यक्रममा रैथाने बालीहरुको संरक्षण तथा उत्पादनमा वृद्धि, बाँदर आतङ्क न्युनिकरणको लागि हेरालुको व्यवस्था, दुधको शुद्धताको लागि गोठदेखि ओँठसम्म नीति तय गरिएको छ ।
नगरको पूर्वाधार विकासको लागि आयोजना बैङ्क स्थापना गर्ने र लगानीमैत्री वातावरणमा लगानीकर्तालाई आकर्षण गरिने नीति लिइएको छ । खानेपानी, यातायात, पार्किङ, सडिक सञ्जाल लगायतको उचित व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि सारिने नीति तथा कार्यक्रम अगाडि सारिएको छ । यस आ.व.मा थप १५ कि.मि.सडक कालोपत्रे गर्ने लक्ष्य नगरको रहेको छ ।
आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिव पार्वती वृद्धाश्रमसँग सहकार्य गरी असहाय, अशक्त व्यक्तिहरुको उचित व्यवस्थापन गरिनेछ ।
नगरप्रमुख खाँणका अनुसार नगरका २५ हजार नागरिकहरु स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् भने १५ हजार जना बीमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन् ।
नगरको समृद्धिको लागि युवा,खेलकुद तथा शिक्षा नीति, सहकारी सम्बन्धी नीति,विपद् व्यवस्थापन,महिला ,बालबालिका तथा जेष्ठ नागरिक लगायतका नीतिहरुको अगाडि सारिएको छ ।