गल्याङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ८१ करोड ४४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख हेमा न्यौपानेले प्रस्तुत गरेको
बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण १२ करोड २८ लाख रुपैयाँ, शसर्त अनुदान ३८ करोड ७ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड रुपैयाँ र विशेष अनुदान एक करोड ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ६९ लाख ७२ हजार, शसर्त अनुदान ५० लाख र समपूरक अनुदान एक करोड रुपैयाँ अनुमान रहेको छ । राजस्व बाँडफाँटबाट प्राप्त हुन अनुदान १५ करोड ७७ लाख ७७ हजार रुपैयाँ र आन्तरिक आयतर्फ अधिल्लो वर्षको अल्या समेत गरी सात करोड ५० लाख हुने अनुमान गरिएको छ ।
बजेटमा खर्च तर्फ कार्यालय सन्चालन तथा प्रशासनीक खर्च १५ करोड ५६ लाख, वडा समिती पाँच करोड ७२ लाख, सामाजिक विकास तर्फ छ करोड ६२ लाख, आर्थिक विकास तर्फ आठ करोड ९२ लाख, पूर्वाधार विकास तर्फ १५ करोड चार लाख गरी ८१ करोड ४४ लाख व्यय अनुमान गरिएको छ ।
बजेटमा उपप्रमुख न्यौपानेले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिएकी छन् । त्यस्तै, बजेटमा उज्यालो गल्याङ, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।