गल्याङ, २९ चैत्र ।
लैंगिक हिंसा न्यूनिकरणका लागि व्यक्ति-व्यक्ति देखि लिएर घर, परिवार, समाज, समुदाय हुदै सरकारी एवं गैरसरकारी निकायहरुले हिंसा न्यूनीकरणका उपाय अवलम्वन गर्नु पर्ने गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले वताएका छन् ।
समाजमा हुने गरेका लैंगिक हिंसाका विरूद्ध समाजकै आवाज वुलन्द गर्नुपर्ने मंगलवार गल्याङमा आयोजित नयाँ गोरेटो संस्थाको आयोजनामा गल्याङ वहुमुखी क्याम्पसमा लैंगिक हिंसा विरूद्धको सचेतना तालिमको उद्घाटन गर्दै उक्त कुरा वताएका हुन ।
गल्याङ नगरलाई कसरी हिंसा रहित नगरपालिका निर्माण गर्न सकिन्छ र न्यायको पक्षमा काम गर्न सकिन्छ भन्ने पक्षमा आफू लागि परेको कुरा जानकारी दिए ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले देशले परिवर्तनको कुरा गरेपनि कुनै न कुनै रूपमा समाजमा हिंसा हुने गरेका घटनाहरू आईरहेको वताईन ।
जबसम्म सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित हुँदैनन् तबसम्म यस्ता घटना न्यूनीकरण गर्न सम्भव छैन । त्यसकारण न्यूनिकरणका लागि परिवार र समाजले विशेष भुमिका निर्वाह गर्नु पर्ने उनको धारणा थियो ।
गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई लगायतले हिंसा अन्त्य हरेक नागरिकले आफूवाट सुरू गर्नुपर्ने वताएका थिए ।
तालिममा घरेलु हिंसा ,जातिय भेदभाव तथा छुवाछुत ,बोक्सीको आरोप ,मानब बेचविखन तथा ओसार पसार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यव्हार, विद्युतीय कारोबार, मुलुकी अपराध सहिता,अपराध पीडित संरक्षण ऐन, बालवालिका सम्बन्धी लगायतका विषयमा तालिम सञ्चालन गरिएको थियो ।
जिल्ला न्यायधिश रमाकान्त ज्ञवाली र शाखा अधिकृत रामचन्द्र उपाध्याय, लेखाअधिकृत प्रकाश खनाल लगायतले प्रशिक्षण दिएका थिए ।
नयाँ गोरेटो संस्थाका अध्यक्ष मञ्जु भूषालको अध्यक्षतामा भएको कार्यक्रममा १ सय वढी विद्यार्थीको सहभागिता थियो ।