२४ कात्तिक, स्याङ्जा ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा २०७० सालको संविधानसभा निर्वाचनमा जस्तै एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराउने लक्ष्यमा छन् । २०७० र २०७४ मा थापा र मरासिनीले पालैपालो एकअर्कालाई हराएर संसद छिर्न सफल भएका थिए ।
२०५१ देखि एमालेको लालकिल्लाका रुपमा परिचित स्याङ्जा क्षेत्र नं। १ मा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापाले झण्डै २० वर्षपछि १२ सय मतान्तरले लालकिल्ला भत्काए । पहिलो भेटमै चुनाव हराएका थापा भने २०७४ को निर्वाचनमा दोस्रो भेटमा उनै मरासिनीसँग १० हजार बढी मतले पराजित बन्न पुगे ।
२०७४ मा देशभर बाम गठबन्धनको माहौल थियो, देशभर बनेको माहौल विपरित स्याङ्जा रहने कुरै भएन । अघिल्लो निर्वाचनमा मरासिनीका सारथी बनेका स्याङ्जा माओवादीका युवानेता शैलेन्द्र घिमिरे यसपटक थापाको सारथी बनेका छन् । माओवादी नेता घिमिरे पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति निकट मानिन्छन् ।
यस क्षेत्रमा ३ स्वतन्त्रसहित १४ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदार दिएका छन् । मुख्य रुपमा कांग्रेसका थापा र एमालेका मरासिनीबीच नै चुनावी प्रतिस्पर्धा छ । माओवादी निकट झण्डै ४५ सय मतदाताले अघिल्लो निर्वाचनमा मरासिनीलाई सहयोग गरे पनि यस पटक राष्ट्रियस्तरमा बनेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाका पक्षमा मत दिने माओवादीको दावी छ ।
२०३५ सालमा स्याङ्जा सदरमुकाम नजिकैको गुदीखोलामा जन्मेका थापाले ३५ वर्षकै उमेरमा मरासिनीलाई हराएर संविधान बनाउनेदेखि विकास निर्माणका गतिविधिलाई तिव्रता दिएको दावी गर्दै आएका छन् । निर्वाचनको प्रचारका क्रममा थापाले मरासिनी चुनाव जितेर संसद त छिरे तर अपेक्षाकृत काम गर्न नसकेको घाम जस्तै छर्लङ्ग रहेको जिकिर गर्दै आएका छन् ।
पहिलो जीतमै संविधान बाउन सफल र आफ्नो क्षेत्रमा विकासका कामले आमुल परिवर्तन ल्याउन योगदान गरेकोमा २०७४ को निर्वाचनपछि हारेपनि प्रत्येक मतदाताको सुखदुःखमा हातेमालो गरेको भन्दै थापाले तेस्रो भेटमा दोस्रो पटक जीत सुनिश्चित रहेको बताए । हारेपछि पनि थापा निरन्तर गाउँघरमा आएको बताउँदै स्थानीयले चुनाव जितेपछि मरासिनी संसदतिरै हराएको बताए ।
नेपाली कांग्रेसको गत महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धीलाई भित्तामै पु¥याउने राजनीति गरेको आरोप नलागेको होईन्, तर उक्त महाधिवेशनमा फरक धारबाट महाधिवेशन प्रतिनिधि हारेका बुद्धिबहादुर राना कुमार’लाई क्षेत्र १ को २ र माओवादीकी नेतृ अमृता थापालाई १ को १ मा प्रदेशसभाका लागि उम्मेदवारका रुपमा अंगालेका छन् ।
२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलले स्याङ्जा क्षेत्र नं। १ का ५२ वटा वडामा ३९ हजार ४९४ मत प्राप्त गरेको थियो भने एमालेले ३६ हजार ८ सय ४५ मत प्राप्त गरेको थियो । पालिकाको निर्वाचनपछि केही युवा मतदाता थपिएका छन् ।
स्याङ्जा क्षेत्र नं। १ मा पुतलीबजार नगरपालिकाका १४ वटा, फेदीखोलाका ५, आँधीखोलाका ६, अर्जुनचौपारीका ६, बिरुवाका ८, हरिनाश गाउँपालिकाका ७ र वालिङका २ तथा भीरकोट नगरपालिकाका ४ वटा वडा रहेका छन् । वडा तहमा कांग्रेस निकटको नेतृत्व बाहुल्य रहेपनि अधिकांश पालिकाको नेतृत्व स्थानीय निर्वाचनपछि एमालेको हातमा छ ।