वालिङ, ८ असार
वालिङ नगरपालिकाले आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम वुधवार नगरपालिकाको सभाहलमा नगर प्रमुख कृष्ण खाँणले सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटन विकासमा जोड दिएका छन् ।
स्मार्ट सिटीको रुपमा विगतको सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिदैं यो सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ कार्यक्रमहरु समावेश गरेको छ । नगरपालिका भित्र रहेका भूमिहिनलाई सुरक्षित आवासको व्यवस्था गरिने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा स्वरोजगारले प्राथमिकता पाएको छ । बैदेशिक रोजगारीबाट फर्केका तथा कोभिड- १९ वाट रोजगारी गुमाएकाहरुको लागि ‘स्टार्ट अप’ बिजनेशको अवधारणा ल्याइएको छ ।
लगानी प्रवर्दन, जनशक्ति उत्पादन तथा पूर्वाधार विकासले पनि आ.व.२०७९/०८० मा प्राथमिकता पाएका छन् । शिक्षा, स्वास्थ्य र जनजीविकाको उन्नयनका लागि विशेष कार्यक्रम गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नागरिकलाई स्वास्थ्यको प्रत्याभूति दिलाउन स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्ने, दीर्घरोगी तथा महिलासम्बन्धी रोगको रोकथाम, पहिचान र उपचारका लागि घुम्ती सेवाको विस्तार गर्ने नीति अघि सारिएको छ ।
स्वास्थ्यकै क्षेत्रमा गह्रौ घ्याङ्लिङ अस्पतालमा गर्भवति महिलाहरुको शल्यक्रियाको लागि आवश्यक स्तरोन्नती गरिने जनाइएको छ । सार्वजनिक नीति तथा कार्यक्रममा उद्यमशीलतालाई जोड दिने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने, विद्यालय अनुगमनको कार्यलाई तिव्रता दिइने र भुगोल र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई मर्ज गरिने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको विकासको लागि कृषि एम्बुलेन्सको व्यवस्था, स्थानीय कृषि उत्पादनहरुलाई ब्रान्डिङ, प्याकेजिङ गर्दै बजारीकरणलाई थप व्यवस्थित बनाइने भएको छ । यस अघि कृषकलाई लगानीका आधारमा अनुदान दिने नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै उत्पादनको आधारमा मात्र अनुदान दिने नीति लिइएको नगरपालिकाले जनाएको छ ।
कृषि क्षेत्रमा दुध तथा कोदो उत्पादक किसानहरुलाई उत्पादनको आधारमा अनुदान, पशु बीमा तथा एग्रो–इको–टुरिजमको नीति अगाडि सारिएको छ । वालिङ नगरपालिका पर्यटकीय क्षेत्र भएकोले केवलकार, पार्क, सडक तथा उद्यान जस्ता पूर्वाधार निर्माणको लागि पीपीपी मोडेलमा काम गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । मौजुदा पर्यटकीय क्षेत्रको विकास तथा स्तरोन्नतीको लागि कार्यक्रमहरु ल्याइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले युवा तथा खेलकुद विकास, दलित तथा लोपोन्मुख जातिको आर्थिक उन्नती तथा संरक्षणको कार्यक्रम, एक वडा एक पक्की सडक, आँधीखोला कोरिडोर निर्माण लगायतका कार्यक्रमहरु गरिने भएको छ ।
संचारको विकासमा सुधार गर्ने
वालिङ नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संचार क्षेत्रको विकासका लागि स्थानीय स्तरमा सन्चालनमा रहेका संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन दिइने जनाएको छ ।
आ.व. ०७९/८० को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै नगर प्रमुख कृष्ण खाँणले संचार क्षेत्रको विकासका लागि फ्रि वाईफाई, जिपिएस कनेक्टीभिटी, स्थानिय संचार माध्यमको विकासका लगि उपकरण खरिदमा अनुदान र लोककल्याणकारी विज्ञापनको नीति अवलम्वन गरिने बताएका छन् ।
स्थानीय संचार माध्यमको क्षमता विकासमा नगरपालिकाले लिएको नीति को नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । संचारको क्षेत्रमा खासै फड्को मार्न नसकेको स्याङ्जामा वालिङ नगरपालिकाले यसको विकासमा लिएको नीति अत्यान्त स्वागत योग्य रहेको वताए । संचार क्षेत्रको विकास संगै पत्रकारिताको विकास पनि उत्तिकै महत्वपूर्ण हुने हुँदा पत्रकारको क्षमता वृद्धिको कार्यक्रमहरु आगामी वर्षको बजेटमा समावेश गर्न आग्रह गरेका छन् ।
कोभिडवाट थलिएको संचार माध्यमलाई केही स्थानीय तहहरुले लोककल्याणकारी विज्ञापन मार्फत सम्वोधन गर्दा यसले ठूलो राहत हुने रेडियो आँधीखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डेले वताए । स्याङ्जामा सन्चालनमा आएका सबै संचारमाध्यमलाई सबै पालिकाले ति संस्थाहरुको विकासमा नीति तथा कार्यक्रममै समावेश गरेर संचार क्षेत्रको विकासका लागि बजेटको व्यवस्था गर्न सुझाव दिएका छन् ।