वालिङ, १४ बैशाख :
आगामी बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस वालिङका उम्मेदवारले घरदैलो अभियान थालेका छन् ।
नेपाली काँग्रेस वालिङ नगर समिति र प्रमुख, उपप्रमुखका उम्मेदवारहरुबीच बैठक बसी घरदैलो अभियान गर्ने निर्णयसँगै आजबाट घरदैलो थालिएको हो ।
आज वालिङ वडा नं. १ को रामबाच्छा, त्रियासी, खहरेमा घरदैलो तथा वडा नं. २ को सिमलचौपारी, धौखोला, छाप्राक, तीलडाँडामा घरदैलो तथा भेटघाट गरिएको हो ।
आज सिमलचौपारीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई आधारभूत तहको स्मार्ट सिटीकोरुपमा स्थापित गर्न र अधुरा रहेका कार्य योजनाहरुलाई पूरा गर्नकालागि पनि नेपाली काँग्रेसको नेतृत्वलाई मतदान गरी बिजयी गराउन अनुरोध गरिन ।
कार्यक्रममा नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले पाँच वर्षका अवधिमा अधुरा रहेका कार्यहरुलाई पूरा गर्नकालागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले यसअघिका अधुरा कार्यहरुलाई नयाँ जोश र जाँगरकासाथ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले वालिङबासी नागरिकहरुको चाहनालाई ध्यान दिंदै उद्यमशिलताका माध्यमबाट आर्थिक विकासका योजनाहरु आगामी दिनमा ल्याउने बताउए ।
कार्यक्रममा उप प्रमुख पदका उम्मेदवार कविता तिवारीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अमुल्य मत दिएर बिजयी गराउन अनुरोध गरिन। उनले नागरिकहरुको सुख दुखमा साथ दिने पार्टी नेपाली काँग्रेस भएकाले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न पनि आग्रह गरिन ।
नेपाली काँग्रेस वालिङ कार्य समितिले प्रमुख, उपप्र्र्रमुुुख तथा वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुसँगको संयुक्त छलफल गरी वडा÷वडामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले बताए ।
नगरका १४ वटा वडामा एकहप्तासम्म टोल टोलमा पुगेर टोल भेला गरिने भएको छ । निर्वाचनलाई लक्षित गरी विभिन्न तयारी समितिहरु गठन गरी तयारी थालिएको उनले बताए । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार पदमराज गुरुङ, २ का वडा अध्यक्षका उम्मेदवार पोतप्रसाद लम्सालसहित वडा सदस्यहरुको सहभागिता रहेको थियो ।