नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यलय स्याङ्जा ।
२८ फागुन,स्याङ्जा –नेपाली कांग्रेस स्याङ्जाले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्ने योजना तय गरेको छ । उक्त अभियान आइतबार देशैभरि सुरु हुँदैछ । स्याङ्जामा आइतबार अपराह्न १ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जाबाट अभियान सुरु हुने नेपाली काङ्ग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिए ।
काङ्ग्रेसले स्थानीय निर्वाचनलाई लक्ष्य गरी पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागी १ महिनासम्म अभियान सञ्चालन गर्न लागेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत बुधबार बसेको बैठकले उक्त अभियानलाई सफल बनाउन ७७ वटै जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधि खटाएको छ ।
केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल आउने ।
स्याङ्जामा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल आउने भएका छन् । ‘अभियान सफल बनाउन आइतबार जिल्ला पार्टी कार्यालय स्याङ्जामा कार्यक्रम आयोजना गरेका छौं,’ सचिव लम्सालले भने ।
पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पुर्याउन कांग्रेसले यो अभियान चलाउन लागेको हो । पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएर निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम यो अभियानमा चल्नेछ ।
अभियानमा कांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा दिएर वडा तहसम्म नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको छ । यो क्रममा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छरिएका भ्रम हटाउन निर्देशन दिइएको छ ।