काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै मिलेको छैन । विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो ।
समय सकिएपछि समितिले थप समय मागेको हो । सभापति एवं प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलले समितिमा रहेका नेताहरुसँग शुक्रबार साँझ बालुवाटारमा छलफल गरेका थिए । छलफलमा समायोजन सम्बन्धी विवाद टुंग्याउन अझै एक दिन लाग्ने समितिका सदस्यहरुले जनाएका थिए । ‘समितिले गरिरहेको कामबारे छलफल भएको हो । उहाँहरुले भोली टुंग्याउँछौ भन्नुभएको छ’, बैठकमा सहभागि वरिष्ठ नेता पौडेलले जानकारी दिए ।
उनले विगतमा जे कारणले क्रियाशीलमा विवाद देखिएको थियो त्यो कारण अझै निवारण भइनसकेको बताए । ‘मुख्य कुरा पुराना कांग्रेसीलाई वनवास पठाएर नवकांग्रेसीको बलमा पार्टी कब्जा गर्न खोजियो । अर्को तल्लो समितिले टुंग्याएको सदस्यतामा भर नगरेर माथिबाट थोपर्ने काम भएको छ । यी दुई कुराले रोकिएको हो, अहिले पनि त्यस्तै छ । तर सहमतिका लागि प्रयत्न गरेकै छौ’, पौडेलले भने ।
कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको छ । वडा तहको अधिवेशन भदौ १८ गते ताकिएको छ । क्रियाशील सदस्यता विवाद तत्काल नटुंगिए महाधिवेशन कार्यतालिका पुनः निष्प्रभावी हुने देखिन्छ ।