हिमदुत सम्वाददाता
कालीगण्डकी, ३१ साउन ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नै लगानीमा नमुना ड्रागन खेती सुरुवात गरेको छ । किसानलाई उक्त खेती तर्फ आकर्षित गर्न ड्रागन फ्रुट खेतीको शुरुआत गरेको गाँउपालिकाले जनाएको छ ।
गाउँपालिका वडा नं. ४ को पुछार भन्ने ठाउँमा स्थानीयको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर ड्रागन फ्रुट लगाएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
“सिञ्चाईका लागि प्रर्याप्त पानी नचाहिने, यहाँको हावापानी, माटो सुहाउँदो खेती भएकाले विशेषगरी यस खेतीलाई नमूना को रुपमा अगाडि बढाएका हौं” अध्यक्ष थापाले भने, “गाउँपालिकाले भन्दा पनि शुरुको चरणमा स्थानीय किसानहरु, कृषक समूह, सहकारीलाई यो खेती लगाउन गाउँपालिकाले प्रोत्साहन गर्ने नीति लियौं तर शुरुमा यहाँका लागि नयाँ भएकाले खास्सै रुचि नदेखाएपछि गाउँपालिकाले नै यो खेतीको ब्यवसायिक शुरुआत गरेको हो ।”
गतवर्ष ३ हजार बिरुवा लगाईएको थियो भने यसवर्ष एक हजार ८ सय बिरुवा थप गरी कूल ४ हजार ८ सय बिरुवा लगाईएको छ ।
“अध्ययन अनुसार सुख्खा ठाउँ, पानी थोरै भएपनि हुने र यहाँको हावापानी माटो अनुसार ड्रागन फ्रुटको संभावना बढी देखियो” अध्यक्ष थापाले भने, “यसको ब्यवसायिक उत्पादन यहाँ संभव छ भन्ने देखाउँदै किसानलाई अभिप्रेरित गर्नका लागि पनि गाउँपालिका आँफैले खेतीको शुरुआत गरेको हो ।”
अहिले गाउँपालिकाले ईच्छुक किसान, कृषक समूह तथा सहकारीहरुलाई बिरुवामा ५० प्रतिशत अनुदान, पोलमा शत प्रतिशत अनुदानसहित आवश्यक प्राविधिक तालीम तथा सहयोग उपलब्ध गराउँदै आएकाले किसानहरु ड्रागन खेती तर्फ आकर्षित हुँदै गएका छन् ।
गाउँपालिकाले अहिले बिरुवा उत्पादन गरी किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आईरहेको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ५० वटाभन्दा धेरै बिरुवा लगाउने किसान, समूहहरुलाई ५० प्रतिशत अनुदान तथा पोल निशुल्क उपलब्ध गराउँदै आएको छ । यो खेती विस्तारका लागि गाउँपालिकाले हालसम्म रु. ८५ लाख लगानी गरिसकेको छ ।
ठूला–ठूला सम्म परेका बारीका पाटा भएर पनि सिञ्चाईको अभाव भएकाले गाउँपालिकाले सिञ्चाईका लागि लिफ्टिङ गरी पानी तानेर सिञ्चाईको ब्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए ।
गाउँपालिकाले नमूनाकोरुपमा थालेको ड्रागन फ्रुट खेतीबाट विस्तारै किसानहरु आकर्षित हुँदै गएकाले यहाँको किसान, समूह सहकारीका लागि आम्दानीको स्रोतकोरुपमा विकास गर्न सकिने धारणा अधिकृत ज्ञवालीको छ ।
किसान, समूह तथा सहकारीहरुले उत्पादन गरेका बिरुवा तथा फलको बजारीकरणको ब्यवस्थापन गाउँपालिकाले गरिदिने भएको छ । कालीगण्डकी गाउँपालिकाको गहना तथा नमूनाकोरुपमा यो खेती विस्तार गरिएको प्राविधिक गम्बरसिंह थापाले जानकारी दिए । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र नयाँ नौलो खेती भित्रिनुकासाथै यहाका स्थानीयले रोजगारीसमेत प्राप्त गरेको उनले जानकारी दिएका छन् ।