गल्याङ, २० साउन
गल्याङ नगरपालिकाले दुध उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । नगरपालिका स्थित वडा नम्बर २ बटुवामा दुध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर १५ रुपैयाँ तथा गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमको अनुदान वितरण गरिएको छ ।
अनुदान वितरण गर्दे नगर प्रमुख भुपराज अधिकारीले अनुदानको व्यवस्थाले किसानहरु धेरै उत्साहित हुनका साथै उत्पादन वृद्धि भएको वताएका छन् । उनले कृषक पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत रहने वताए ।
नगर प्रमुख अधिकारीले नगरपालिकाले दिएको अनुदानको व्यवस्थाले किसानहरुमा व्यवसायिक बन्ने क्रम बढेको र यसलाई अझै व्यवस्थित बनाउने क्रममा नगरपालिका लागिरहेको जानकारी दिए ।
बाटो खन्नु मात्रै विकास नभएको भन्दै उनले सन्तुलित विकासको अवधारणा अन्तर्गत जनजीविकामा परिवर्तन ल्याउने कुरामा सबैले जोड दिनुपर्ने वताए । कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने वताउदै अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको पनि जानकारी दिए ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङमा दुध उत्पादनको आधारमा दिइने अनुदान नेपालमै नमुना भएको दावी गर्दै, कृषकहरु अनुदानवाट उत्पादन वढाउन उत्साहित भएकोले यसलाई निरन्तरता दिनुपर्ने वताउदै अनुदानमा मात्रै भर पर्नु भन्दा पनि आत्मनिर्भर बन्ने योजनामा लाग्न कृषकलाई सुझाब दिएका थिए ।
वडा नम्बर २ का अध्यक्ष इवप्रसाद कर्माचार्यले गल्याङ नगरपालिकामा दुधवाट कृषकहरुको जीवनस्तर फेरिएको वताएका छन् । उत्पादनको आधारमा पाईने अनुदानले कृषकलाई पशुपालनलाई व्यवसायिक वनाउन प्रेरित गरेको वताएका थिए ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर दुई की टिकाकुमारी रानाले सबैभन्दा धेरै दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान वापत छ महिनामा दुई लाख ४० हजार आठ सय ५९ रुपैयाँ अनुदान वापत प्राप्त गरेकी छन् । साथै रानाले गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरे वापत ४२ हजार रुपैयाँ अनुदान समेत प्राप्त गरेकी छन् ।
कार्यक्रममा बटुवा दुग्ध उत्पादन संकलन केन्द्रमा दुध संकलन गर्ने ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले ११ लाख ८६ हजार पाँच सय ७५ रुपैयाँ वितरण गरिएको छ ।
यस्तै, कार्यक्रममा गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना कृषकहरुलाई जनही ७२ हजार रुपैयाँका दरले जम्मा सात लाख १४ हजार रुपैयाँ पनि वितरण गरिएको छ ।
बटुवा दुग्ध संकलन केन्द्रका अध्यक्ष एवम् कार्यक्रमका सभापति भिम भण्डारीले प्रतिलिटर १५ रुपैयाँ, लागत साझेदारी र व्याजमा अनुदान गरी आफ्नो संस्थाले झण्डै ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको जानकारी दिए ।
गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्याल, जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिंजाली, वडा सदस्यहरु लालबहादुर जिटी, अशोक थापा, पशु चिकित्सक डाक्टर अनिस सापकोटा, पशु प्राविधिक अर्जुन जिटी, गाई पकेट लागत साझेदारी कार्यक्रमका अध्यक्ष रुमलाल कँडेल लगायतको सहभागीता रहेको थियो ।
संस्थाका सचिव डिल्लीराम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सरस्वती भण्डारीले गरेकी थिइन् ।