हिमाल न्यौपाने
गल्याङ २४ असार ।
वर्षातमा वाढी र पहिरोवाट वीपतमा परेका नगरवासीलाई सान्तवना दिन गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी राहत रकम सहित नागरिकको घरदैलोमा पुगेका छन् ।
गत साता कालीगण्डकी नदीमा आएको वाढीका कारण क्षतिग्रस्त सेतीवेनी वजारमा रहेका स्थानीयहरुलाई राहत स्वरुप नगद रकम सहित अधिकारी सेतीवेनी पुगेका छन् । सेतीवेनीका १९ घर परिवारलाई नगद राहत वितरण गरेका छन् ।
गल्याङ नगरपालिका वाड नं ५ स्थित सेतीवेनीमा गत साता कालीगण्डकी नदीमा आएको वाढीका कारण १ घर पूर्णरुपमा क्षति पुगेको थियो भने दशवटा पसलमा आंशिक क्षति पुर्याएको गल्याङ ५ का वडा अध्यक्ष विष्णुवहादुर वश्याल क्षेत्रीले जानकारी दिए ।
उक्त क्षेत्रमा घर पुर्णरुपमा क्षति भएका परिवारलाई नगद २० हजार र आँशिक क्षति भएका परिवारलाई प्रति परिवार ५ हजारका दरले तत्कालको लागि राहतस्वरुप ५ हजार प्रदान गरिएको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए ।
राहत वितरण गर्दै अधिकारीले सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा बैकल्पिक बासस्थानको व्यवस्थाका लागि आफुले पहल गर्ने बताए । कालिगण्डकी ए जलविद्युत परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहना अनुसार आफुले दीर्घकालिन समाधानको पहल गर्ने योजना अगाडी सारेको जानकारी दिए ।
सोही अवसरमा नगर प्रमुखलाई स्थानीयबासीले कालिगण्डकी ए जलविद्युत परियोजनाको कारण आफुहरुले वर्षेनी पिडा भोग्नुपरेको गुनासो गरेका छन् । कालिगण्डकी जलविद्युत आयोजनाका प्रमुख पशुपति न्यौपाने, वडा सदस्य चित्रबहादुर थापा, नेपाल शिक्षक महासंघ स्याङ्जाका उपाध्यक्ष राजेन्द्रदेब खनाल, शिक्षक चुडामणी बस्याल लगायतको टोलीले वाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।