काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले २०७९ वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका हुन् ।
आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरि पार्टी अधिवेशनमा लाग्नुपर्ने जानकारी गराइएको छ । पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउने, पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने पोखरेलले प्रस्ताव गरेका छन् ।
त्यस्तै भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ । यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएको थियो ।
महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।