काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।
नेता नेपालले ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् । त्यस्तै नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएकाले फिर्ता लिन नसकिने जवाफ दिएका छन् ।
नेपाल समूहका एक नेताले दिएको जानकारी अनुसार एमाले नेता घनश्याम भुसालले ओली र नेपाललाई टेलिफोन सम्पर्क गराएका हुन् । ललितपुरस्थित समिट होटलमा छलफलमा रहेका भुसाल कोटेश्वरमा रहेको नेता नेपालको निवासमा आएर टेलिफोन सम्पर्क गराएका हुन् ।
ओलीले १८ असारमा केन्द्रीय कमिटी बैठकबाट सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनी दिएपछि उनीहरूबीच टेलिफोन भएको हो ।
‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ ओलीले बैठकमा भनेका थिए, ‘हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुन्छ ।’ हस्ताक्षर फिर्ता नलिनु पार्टी फुटेको घोषणा भएको ओलीले बताएका थिए ।
समिट होटलमा एमालेका ओली समूह र नेपाल समूहका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । ओली र नेपाललाई टेलिफोन सम्पर्क गराएर भुसाल समिट होटलमा फेरि छलफलमा पुगेका छन् ।
ओली र नेपालले अडान नछाड्दा एमालले फुटको डिलमा पुगेको छ । तर उक्त बैठक नेपाल सममूहले अवैध भनेको छ । नेपाल समूहले केन्द्रीय कमिटी रोक्न माग गरे पनि ओली बैठक राखेका थिए ।