हिमदुत सम्वाददाता
वालिङ, ८ असार ।
स्मार्ट सिटीको अवधारणा सहित अगाडी वढेको वालिङ नगरपालिकाको १३ नं वडा कार्यालयले वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्न विद्यालय र अभिभावकलाई आग्रह गरेको छ ।
वडा शिक्षा समितीको वैठकवाट कोरोना भाइरस संक्रमणको जोखिमसंगै विद्यालयहरु वन्द गरिरहँदा विद्यार्थीहरु वढी प्रभावित भएका कारण प्रविधिको प्रयोग गरी वैकल्पिक विधिवाट पठन पाठन सुचारु गर्ने निर्णय गर्दै वडामा रहेका विद्यालयहरुमा अध्यायन गर्ने विद्यार्थीको घरमा निशुल्क इन्टरनेट जडान गर्न सहयोग गरेको छ ।
विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरी शिक्षकहरुलाई जुम जस्ता एप्स सन्चालनका लागि तालिम प्रदान गर्ने वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीहरुका घर घरमा निशुल्क इन्टरनेट जडान गर्न वडा कार्यालयको अनुरोधमा इन्टरनेट सेवा प्रदायकहरु संग छलफल भइरहेको र छिट्टै सबै विद्यार्थीको घरमा इन्टरनेट जडान गरी विद्यार्थीहरुको पठन पाठन सन्चालन गरिने पाठकले जानकारी दिए ।
कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई सहज रुपमा विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई पठन पाठन गर्न सक्ने स्थिती तत्कालै वन्न सक्ने अवस्था नदेखिएकोले वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न वडा शिक्षा समितीको निर्णय गरी इन्टरनेट सेवा प्रदायकसंग समेत निशुल्क जडान गर्ने सहमती भइसकेको वडा अध्यक्ष पाठकले जानकारी दिए ।
इन्टरनेट सेवा प्रयोग गरेबापत मासिक शुल्क भने अभिभावक आफैले बुझाउनुपर्ने छ । इन्टरनेटको सुविधा भएपछि विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने मात्र होइन्, विद्यालयको प्रशासनिक कामकाज पनि छिटोछरितो र सहज हुने विश्वास लिइएको छ । इन्टरनेट सेवाले शिक्षकको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने विश्वास समेत लिइएको छ ।
उता वालिङ नगरपालिकाले कोभिड–१९ का कारण नियमित पठनपाठन अवरुद्ध भएको र सञ्चार प्रविधिको उपयोग गरी डिजिटल सिकाइ सामग्रीका माध्यमबाट पढाउने गरी छिट्टै सबै सामुदायिक आधारभूत विद्यालयहरूलाई कम्प्युटर उपलव्ध गराउन टेण्डर आव्हान गरिसकेको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् ।
अवरुद्ध नियमित पठनपाठनको कार्यलाई थप प्रभावकारी गराउन नगरपालिकाले आगामी वजेटमा समेत सम्वोधन गरी विद्यालयलाई प्रविधिमैत्री गराई विभिन्न वेबसाइट तथा निशुल्क अनलाइन उपयोगी सामग्रीहरू युट्युब लगायतबाट डाउनलोड गरी विद्यार्थीलाई पठन पाठनमा सहज गराउने थप योजनामा रहेको समेत उपप्रमुख तिवारीले जानकारी दिइन् ।