काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताएका छन् ।
बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण तत्व खोप नै भएको उल्लेख गर्दै साउन महिनादेखि लगाउन मिल्ने गरी आवश्यक खोपको व्यवस्थापन गर्न गृहकार्य भइरहेको दावी गरेका हुन् ।
यसैगरी बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।
यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।
यस्तै, बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई , जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी, कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए ।