काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा सरकारले स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य भएको भन्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत अस्वीकार्य भएको जनाएको छ । सरकारको नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ ।
क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन जरुरी भएको भन्दै त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दो आधार हुने उल्लेख छ । कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पतालहरु देशमा विद्यामान रहेकोमा समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको बताएको छ ।
‘सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ’, विज्ञप्तिमा उल्लेख छ ।
गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जोड दिदै कांग्रेसले संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न सरकारसंग आग्रह गरेको छ ।
सरकारले भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने योजना बनाएको छ