काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार(आज) हुँदै छ ।
सर्वोच्च अदालत प्रशासनले दिएको जानकारी अनुसार संसद विघटनको विरुद्धमा मन्त्रिपरिषद र राष्ट्रपति कार्यलयलाई विपक्षी बनाएर दायर गरेको ३० वटा रिट मध्ये आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ हुन लागेको हो ।
अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयको छिनोफानो बिहीबार हुने छ । यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
विघटित प्रतिनिधि सभाका १४६ सांसदले संविधानको धारा ७६(५) बमोजिम विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश माग दावी सहित दायर रिटमाथिको सुनुवाइ पनि शुक्रबार हुने भएको छ ।
संवैधानिक इजलास बिहीबार नबस्ने भएकोले संवैधानिक इजलासबाट सुनुवाई हुनुपर्ने माग दावी सहितको रिटको छिनोफानो भोलि नै हुने सर्वोच्च अदालतले जनाएको छ ।
जेठ ७ गते राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । तिस मध्ये चार वटा प्रधानमन्त्रीमा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग दावी सहित राष्ट्रपति कार्यलयलाई विपक्षी बनाइ रिट दायर भएको अदालतले जनाएको छ ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।