पाल्पा — रामपुर नगरपालिका आफैले खोप किन्न अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । नगरपालिका आफैले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर खोप किन्न अनुमति मागेको हो ।
नगरपालिकाभित्र बसोबास गर्ने नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप लगाउने सोंच नगरपालिकाको भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । ‘हामी आफै खोप किनेर ल्याउने र लगाउन स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ नगरप्रमुख थापाले भने, ‘प्रचलित ऐन/नियमावली र मापदण्डको परिधिभित्र रही र यसअघि सरकारले खरिद गरेको मूल्य र तोकिएको मापदण्डबमोजिम कोभिड–१९ विरुद्धको खोप किन्न माग गरेको हो ।’
कोभिड–१९ विरुद्धको खोप खरिदमा समन्वय गरेका अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले भारतमा खोप उत्पादन गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरुसंग छलफल भइरहेको बताएका छन् ।
कान्तिपुरवाट साभार ।