काठमाडौँ । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवालाई नेपाल समूहका नेताले प्रतिक्रिया दिएका छन् ।
नेपाल समूहका नेता जगन्नाथ खतिवडाले यो अन्तिम समयमा भ्रम छर्ने जालसाजीपूर्ण निर्णय मात्रै गरेको बताए । ‘निर्णय गर्दा एउटा विधि प्रक्रियाबाट गर्नुपर्छ’ नेता खतिवडाले भने ‘अवैध कमिटीले गरेको त्यो निर्णय मान्य हुँदैन् ।’ आफू प्रधानमन्त्री हुन केपी शर्मा ओलीले अनेक उपाय लगाएको उनले बताए ।
आज बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही फुकुवा गरेको थियो ।
२०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान नेपाल समूहले कायम राखेको छ । अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।