काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले सहभागिता नजनाउने भएको छ ।
सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आज शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू सहभागी नहुने घोषणा गरेका हुन् । उनले परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।
‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा जनाइएको छ ।