काठमाडौँ । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य खिमविक्रम शाहीबारे छानबिन गर्न माग गर्दै गण्डकी प्रदेशका तीन दलले विज्ञप्ति जारी गरेका छन् । बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै छानबिन गर्न माग गरेका हुन् ।
‘बिरामी भनिएका शाहीलाई भेट्न पनि नदिनु र अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा प्रहरी परिचालन गर्नुको कारण रहस्यमय छ’ तीन दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘माननीय पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु, तर करिब आधा घन्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वभाविक छ ।’