पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेका थिए । संसद स्थगन भएपछि मंगलबार नै सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको संसद सचिवालले जनाएको छ । संसदमा सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याएको प्रस्तावमाथि छलफल चलिरहेको अवस्थामा तीन जना सांसदलाई कोरोना संक्रमित भए पछि पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् । तर,मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान गर्नबाट भने उनीहरुलाई वञ्चित नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।