। सुदूरपश्चिममा भीम रावलले नेकपा एमालेको समानान्तर किमटी घोषणा गरेका छन् । खनाल र नेपाल पक्षको मंगलबार सकिएको प्रदेशस्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो ।
खनाल-नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण रहेको समितिको पूर्णता भनेका छन् । कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे ।
प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा अपुरो रहेका पदमा जिम्मेवारी तोक्दै बाँकी रहे जिल्ला कमिटीले नै तोक्न सक्ने गरी बैठकमा निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।
माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेमा ७१ जनाको प्रदेश कमिटी थियो।
एकतापछि तत्कालीन नेकपा हुँदा प्रदेशमा १८२ सदस्यीय कमिटी बनेको थियो। खनाल–नेपाल पक्षको एमालेका प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बैठकले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने गरेको बताए।
एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ। रावल तत्कालीन एमाले हुँदा र पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी हुँदा पनि सुदूरपश्चिम इन्चार्ज थिए।
पछिल्लो समय अध्यक्ष ओलीले रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ ।
तोकिएका जिल्ला अध्यक्ष
कैलाली- दीर्घ सोडारी
कञ्चनपुर- तारा लामा तामाङ
डोटी- चक्रबहादुर मल्ल
डडेल्धुरा- तारा जोशी
बैतडी- महादेव भट्ट
अछाम- शेरबहादुर कुँवर
बझाङ- दिलबहादुर सिंह
बाजुरा- गगन रावल
दार्चुला- तोक्न बाँकी