काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘प्रतिगमनकारी’ का रुपमा चित्रण गर्न थालिएकोमा आपत्ति जनाएका छन् ।
उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रश्न गरे, ‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’ ‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने, अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ?’ ‘प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने ? यति सारो जनता अल्मल्याउने ?’
कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न सकेन भने प्रतिगमन भयो भनिदिने परिपाटी देखिएको उनको भनाइ थियो ।
आफ्नो आलोचनाका क्रममा ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै ओलीले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र रहेको प्रस्ट पारे ।