काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको भत्सर्ना गरेको छ ।
कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता योगेश भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भत्सर्ना गर्छौं ।’
नेपाल समूहका नेताहरुको बैठकमा चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ ।