काठमाडौं । बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई रोजगारी दिलाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिदै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रहेको उक्त प्रस्तावमा कांग्रेसकै सांसद देवप्रसाद तिमल्सिना र रंगमती शाही समर्थक रहेको प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता भएको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण हजारौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएको तर उनीहरुको पुनर्स्थापना तथा रोजगारीका लागि सरकारले कुनै पहल नगरेको उनीहरुले प्रस्तावमा लेखेका छन् ।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्ने भनेको उल्लेख गर्दै उनीहरुले ती केन्द्रले कसरी काम गर्ने हुन् भन्ने स्पष्ट नभएको बताएका छन् ।