नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल २४ दिनपछि सकिँदैछ। गत वर्ष देउवाले पार्टी विधानअनुसार एक वर्ष कार्यकाल थपेका थिए। जुन फागुन १९ गते सकिँदैछ।
अब देउवालाई कार्यकाल थप गर्न पार्टी विधानले ठाउँ दिएको छैन। नियमित कार्यकाल सकिएपछि एक वर्षमात्रै कार्यकाल थप गर्न सक्ने कांग्रेस विधानमा व्यवस्था छ।
२०७२ मा भएको १३ औं महाधिवेशनबाट आएको कार्यसमितिको म्याद थप गर्न अब सभापति देउवाले संविधानको सहारा लिनुपर्ने हुन्छ।
संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्दछ’ भन्ने उल्लेख गरिएको छ।
कांग्रेस सभापति देउवाको नियमित चार वर्षे र थप गरेको एक वर्षे कार्यकाल फागुन १९ मा सकिँदैछ। तर विषेश परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारी निर्वाचन सम्पन्न हुन नसकेमा संविधानले कार्यकाल थप गर्न सक्ने व्यवस्था भने दिएको छ।