काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले बिहीबारको आमहड्तालका क्रममा केही नागरिकहरुले पीडा भोग्नु परेकोप्रति क्षमा मागेको छ।
आज पत्रकार सम्मेलन गर्दै यो समूहले आमहड्तालले दुःख भोग्नु परेका नागरिकहरुप्रति क्षमा मागेका हो।
पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले भने, ‘आमहड्तालले कतिपयलाई धेरै पीडा दिएको छ । मजदुर, बिरामी र दैनिक ज्यालादारी गर्नेसमुदायका मानिसलाई समस्या भयो । विद्यार्थीहरुको जाँज भएकोले पनि कष्टपूर्ण भएको छ। हामी यसरी पीडा भोग्नु परेका नागरिकहरुसँग क्षमा माग्न चाहन्छौँ ।’
उनले अहिलेको स्थितिको सबै कारक तत्व प्रधानमन्त्री केपी शर्मा आली रहेको बताए।
‘पार्टीबाट सुरु गरेर राज्यलाई नै आफ्नो कब्जामा पार्ने कोशिस केपी ओलीबाट भएको छ । उनले प्रजातन्त्रकाे घाँटी निमोठिरहेका छन्’, नेता नेपालले भने।
उनले अहिलेको परिस्थिति नेकपाको आन्तरिक मामिला मात्रै हो भनेर नठान्न पनि आग्रह गरे।
‘यो नठाने हुन्छ कि यो नेकपाको आन्तरिक मामिला मात्रै हो’, अध्यक्ष नेपालले भने, ‘अब यो देशकाे मामिला भइसकेको छ । संविधानको मामिला भइसकेको छ।’
उनले बिहीबारको बन्द हड्तालमा जनताको अपार समर्थन प्राप्त भएको बताए।
‘अब ओलीले जे गर्छन् त्यही सहेर र तमासा हेरेर नेपाली जनता बस्नेवाला छैनन् भन्ने सन्देश बिहीबारको हड्तालले दिएको छ’, नेपालले भने।
उनले अत्यधिक ठूलो बहुमत आफूहरुसँग रहेकोले चोइटिएर जानेहरुका पक्षमा देशभरका नेता कार्यकर्ता नरहेको बताए।
उनले नेकपा पार्टीमा कसलै आँखा मात्रै लगाउन खोज्छ भने आफूहरुले स्वीकार्न नसक्ने बताए।
‘चोइटिएर जानेहरुले बालकोटमै पार्टी बनाए हुन्छ । ओलीको पूजा गरेर बसे हुन्छ । पार्टी बनाउनुछ भने विचारमा उभिनुपर्छ’, नेपालले भने ।
उनले केपी ओलीसँग कोही नतर्सिने बताए।
‘केपी ओली चेतना भया कोही तर्सिनेवाला छैन तपाईँसँग… कोही आतंकित हुनेवाला छैन ’, उनले भने।