काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीच विवाद हुँदा झडप भएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा प्रचण्ड–माधव समूह निकट आठविकासकोट नगरपालिका वडा नम्बर–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का काँग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको हो ।
झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन्। उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको छ ।
अनिश्चितकालीन निषेधाज्ञा जारी
दुई पक्षबीचको विवादबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।
प्रशासनले आज साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।