काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय च्यानल जी-न्यूजसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता नाटक भएको बताएका छन् ।
राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले सो कुरा बताएका हुन् ।
‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी- न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले ?,’ प्रचण्डले प्रश्न गरे।
प्रचण्डले भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’