कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सरकारी गाडी दुरुपयोग गरेको भेटिएको छ ।
जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले शनिबार गरेको छड्के चेकिङमा मुख्यमन्त्री कार्यालयको ग १ झ ४३५ नम्बरको गाडी दुरुपयोग गरेको भेटिएको हो ।
पृथ्वीचोकबाट सो गाडीलाई जागौं नेपालले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ । जागौं नेपालका कास्की संयोजक नारायणहरि तिवारीले मुख्यमन्त्रीको पीएले सो गाडी लिएर ओहोरदोहोर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग हुन्छ वा हुँदैन भनेर जागौं नेपाल अभियानका केन्द्रीय अध्यक्ष दीपक आचार्यको नेतृत्वमा पहिलोपटक पोखरामा छड्के चेकिङ गरिएको तिवारीले बताए ।
अभियान्ताले ४ वटा गाडीलाई नियन्त्रणमा लिई ट्राफिक कार्यालयलाई बुझाएको जनाएका छन् । महान्याधिवक्ताको ग १ झ ३६९, मुक्तिनाथ बराह क्षेत्र विकास कोषको ग १ झ ३३९ र अर्को ग १ झ ५४० नम्बरका चार वटा गाडी बिदाको दिनमा दुरुपयोग गरेको भेटिएको तिवारीले जानकारी दिए । उनका अनुसार ५४० नम्बरको गाडी कसको हो भन्ने खुल्न सकेको छैन ।
यसैगरी चेकिङकै क्रममा ग १ झ ४७० नम्बरको गाडी भने नियन्त्रणमा लिने क्रममा भागेको केन्द्रीय संयोजक आचार्यले बताए । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले नियन्त्रणमा लिइएका ती सरकारी गाडीको पास भएकाले छाडिएको बताए ।
‘जागौं नेपालले दुरुपयोग गरिएका सरकारी गाडी देखायो प्रहरीले नियन्क्रमणमा लियो, हमालले भने, ‘सबै गाडीसँग पास भएकाले प्रहरीमा ल्याएर छोडेका हौ ।’