काठमाडौं-अहिले ससद् विघटन गर्दै सरकारले चुनावको मिति घोषणा गरेपछि संसद् ब्युँताउन आन्दोलन गर्ने कि चुनावको तयारीमा लाग्ने भन्ने विषयमा कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मतभेद देखिएको छ ।
हिजोबाट सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले अहिले आन्दोलन गर्नुभन्दा अदालतको निर्णय कुर्नुपर्ने र चुनावको तयारीमा लाग्नुपर्ने मत राखेको छ भने पौडेल पक्षले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सडक–संघर्षमा उत्रिनुपर्ने धारणा राखेको छ । प्रतिनिधिसभाको विघटन गैरसंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भएकोमा भने दुवै पक्ष एकमत छन् । तर, संसद् ब्युँताउने वा चुनावको स्वागत गर्ने भन्ने विषयमा भने नेताहरूको मत बाझिएको छ ।
गएको आइतबारको पदाधिकारी बैठकमा केही शीर्ष नेताहरू नै चुनावलाई सकारात्मक रूपमा लिएर अघि बढ्नुपर्ने पक्षमा देखिएका थिए ।