काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको मिलिभगतमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको हुन सक्ने शंका गरेका छन्। कोइरालाले नियुक्त आयुक्तहरुको नाम हेर्दा देउवा मिलेको सम्भावनालाई नकार्न नसकिने बताएका हुन्।
कोइरालाले सभापति देउवाको भित्री सहमतिमा संवैधानिक सिफारिस भएको हुन सक्ने र त्यसमा पार्टीले अनुसन्धान गर्ने बताए।
कोइरालाले भने, ‘अहिले १४ जनाको नियुक्ति सभापतिजीले गरेको भन्ने कुरा आइरहेको छ। कतिको साचो हो भन्न सकिन्न। प्रधानमन्त्रीले विभिन्न ठाउँमा बोलेको सुन्दा उहाँले कतै न कतै हाम्रो सभापतिजीको साथ र सहयोगमा नै भएको भन्ने कुरा बताउनु भएको छ। त्यो हो भने अत्यन्तै दुर्भाग्य हो।’
कोइरालाले देउवा विरुद्द केन्द्रिय समितिमा कुरा उठाउने पनि बताए। ”हामी असमन्जसमा पनि परेको छौं। यो कुराहरु हामी केन्द्रिय समितिमा उठाउने छौं,’ भन्दै कोइरालाले सभापतिका गतिविधिले कांग्रेसले अध्यादेश र संसद भंग गरेको विरोध गर्ने नैतिक धरातल गुमाउने पनि बताए।
कोइरालाले कांग्रेस चुनाव सँग नडराएको तर विधि र प्रक्रियाको लागी संसद पुनस्थापना गरेर अगाडी बढ्ने पनि बताएका छन्। उनले भने, ‘संसद पुनस्थापना गरेर नै अगाडी बढ्छौं। सबै भन्दा इम्पोर्टटेन्ट भनेको देश हो। अधिनायकतावाद उन्मुख शक्तिलाई हामी रोक्छौं।’