Himdut.com
काठमाडौं- अमेरिकी चुनावमा विभिन्न राज्यहरुबाट प्राप्त मतको प्रारम्भिक नतिजा आए पनि निर्णायक राज्यहरुको मतपरिणाम आउन बाँकी नै छ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडेनले २ सय ३८ इलेक्टर मतका साथ अग्रता कायमै राखेका छन् भने वर्तमान राष्ट्रपतिसमेत रहेका रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले २ सय १३ इलेक्टर मतका साथ पछ्याइरहेका छन्।
कडा प्रतिस्पर्धाबीच भइरहेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दुबै उम्मेदवारले आफ्नो जीत हुने दाबी गरिरहेका छन् तर पनि यो ५३८ मत मध्ये आधारमा बाँडिएको छ ।
अमेरिकाका धेरै राज्यहरूको चुनावी परिणाम र प्रवृत्ति पहिले नै अनुमान गर्न सकिने भए पनि अझै कुन पार्टीमा मत जान्छ भन्ने आकलन गर्न कठिन हुने ‘स्वीङ स्टेट’ हरू छन् । यी राज्यहरू नै राष्ट्रपति चुनावमा निर्णायक हुन्छन् ।
मतगणना जारी रहँदा रिपब्लिक तर्फका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प या डेडेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको भाग्य फैसला गर्न ती राज्यहरुको मतगणना कुर्नुपर्ने भएको छ।
यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।
Himdut.com
अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि-दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्याउन सक्छन् ।
कुल ५३८ इलेक्टोरल कजेल हुन्छ । यो ५३८ सिट ५० राज्यहरूमा जनसंख्या अनुपातको आधारमा बाँडिएको छ । अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।
अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ रहेको छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३-३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।
त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९-२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०-२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।
फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् । यसपटक निर्वाचनको परिणाम आउन दुई दिनसम्म पनि लाग्न सक्छ । अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।
जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ-आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।
राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।
प्रारम्भिक मतपरिणामले आशावादी बनेका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई पछि पार्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा, ओहाओ, आइवाको जितसँगै पुनः राष्ट्रपतिमा दोहोरिने सम्भावना बलियो बनेको छ । डेमोक्रेटले आशा गरेका जर्जिया र नर्थ क्यारोलाइनामा पनि रिपब्लिकनले पकड कायम राखेका छन् ।
ट्रम्पले रिपब्लिकन पार्टीको परम्परागत पकड रहेको केन्टकी, वेस्ट भर्जिनिया, ओक्लाहामामा पनि पकड कायमै राखेका छन् ।
वाइडेनले डेमोक्रेटिक पार्टीको मेरिल्यान्ड, न्युयोर्क, न्युजर्सी, म्यासाच्युसेट्स लगायत सुरक्षित गर्दै सन् २०१६ मा ट्रम्पले जितेको तथा रिपब्लिकनको पकड रहेको एरिजोना, न्यू ह्याम्स्पायर लगायतमा जितेका छन् ।
दुबै पक्षले अब पेन्सिलभेनिया, मिसिगन र विस्कोन्सनको मत परिणाम व्यग्रतापूर्वक कुरिरहेका छन् । पेन्सिलभेनियामा बाइडेनले अन्तिममा जिते भने नयाँ आशा सञ्चार हुन सक्छ । अहिले मतगणना भइरहेका यी क्षेत्रमा ट्रम्पले अग्रता लिएका छन् ।
मिसिगन, विस्कोन्सन र पेन्सिलभेनियाको परिणाम आउन केही समय लाग्ने भएकाले अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्ने देखिएको छ ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।